तनहुँको शुक्लागण्डकी नगरपालिका-४ मा रहेको दुलेगौंडा बजारबाट पाँच किलोमिटरको दूरीमा प्रसिद्ध ढोरबाराही मन्दिर अवस्थित छ। यो मन्दिर शुक्लागण्डकी नगरपालिका-९ बाजस्थलमा अवस्थित छ र यसलाई हिन्दूहरूको आस्थाको धरोहर पनि मानिन्छ।
चारैतिर जंगलले घेरिएको पहाडको बीचमा अवस्थित ढोरबाराही मन्दिर परिसरमा १५ फिट चौडा पोखरी र पोखरीको बीचमा दुईवटा ढुङ्गाका संरचनाहरू छन्। पन्ध्र-पन्ध्र मिनेटमा पोखरीमा रहस्यमय लहरी आउनेगर्छ । ढोरबाराही देवी खुसी हुँदा लहरी आउने किंवदन्ती छ। पोखरीको मुहानबाट पानीको ठूलो लहरी आउँछ र केहीबेरमा फेरि लहरी घट्छ। यस लहरीलाई धार्मिक आस्थासँग तुलना गरिन्छ।
विशेष गरी लहरी छुट्दा पोखरी भित्रबाट राजाबाम बाहिर निस्कने र त्यस समयमा राजाबामलाई देखेमा सौभाग्य प्राप्त हुने जनविश्वास छ। यहाँ पूजा गर्नाले बोली नफुटेका बच्चाहरूको बोली फुट्ने र चिताएको मनोकामना पुरा हुने विश्वाश गरिन्छ।
यहाँ पूजा गर्न भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।