रिन्जे नासा होमस्टे



रिन्जे नासा गाउँ, अर्थात् रिन्जे होमस्टे, कास्की जिल्लाको पोखरा महानगरपालिका–१६ मा अवस्थित एक आकर्षक तथा उदाउँदो ग्रामीण पर्यटन गन्तव्य हो। 

२०७५ सालमा औपचारिक रूपमा होमस्टे सञ्चालनमा आएपछि पछिल्ला वर्षहरूमा यहाँ घरवास पर्यटन क्रमशः विकास हुँदै गइरहेको छ। पोखराको पृथ्वीचोकबाट करिब १५ किलोमिटर दूरीमा रहेको यस गाउँमा २०७५ साल अघि करिब ३० घरधुरी बसोबासमा थिए। तर बसाइँसराइ बढ्दै जाँदा गाउँ रित्तिन थालेपछि त्यसलाई रोक्ने उद्देश्यले घरवास (होमस्टे) कार्यक्रम सुरु गरिएको हो। 

होमस्टेका अध्यक्ष शमशेर बहादुर गुरुङका अनुसार यस पहलले गाउँमा पुनः चहलपहल ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। हाल यस गाउँका करिब १० घरधुरी होमस्टेमा आबद्ध छन्, जसले एकैपटक करिब ५० जना पाहुनालाई सेवा दिन सक्ने क्षमता राख्छ। यहाँ आउने पाहुनाहरूलाई गाउँमै उत्पादन हुने कोदोको ढिँडो, चामल, लोकल कुखुरा, सिजनअनुसारका ताजा तरकारी तथा कोदोबाट बनेको घरेलु मदिराले स्वागत गरिन्छ, जसले स्थानीय स्वाद र संस्कृति झल्काउँछ। मुख्य रूपमा गुरुङ समुदायको बसोबास रहेको यो गाउँ सांस्कृतिक र धार्मिक दृष्टिले पनि समृद्ध छ। 

यहाँका परम्परागत ढुङ्गाले बनेका घरहरू र गाउँभित्रका बाटाहरू समेत ढुङ्गाले छपक्कै छापिएका छन्, जसले पुरानो गाउँको मौलिकता जोगाइराखेको छ। साथै, यहाँ बस्दा पर्यटकहरूले गुरुङ समुदायको संस्कृति, खानपान र जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सक्छन्।

पोखराबाट सवारीसाधनमा करिब ४५ मिनेटमै पुग्न सकिने यो गाउँ महेन्द्रगुफा र अर्मला क्षेत्र हुँदै सहजै पुग्न सकिन्छ। शान्त वातावरण, हरियाली डाँडाकाँडा, खेतबारी र वरिपरि देखिने मनमोहक दृश्यहरूले रिन्जे नासालाई प्रकृति र संस्कृति प्रेमीका लागि उत्कृष्ट गन्तव्य बनाएको छ।