स्थानीय परम्परा र इतिहासअनुसार कान्छी बराहलाई शक्ति स्वरूप देवी तथा भगवान विष्णुको बराह अवतारका रूपमा पूजा गरिन्छ। विशेषगरी यहाँका गुरुङ लगायत विभिन्न समुदायमा यस मन्दिरप्रति अगाध श्रद्धा र विश्वास रहेको पाइन्छ। वनको बीचमा स्थापित यो मन्दिरले प्रकृतिप्रतिको सम्मान र हाम्रो प्राचीन प्रकृति–पूजक संस्कृतिको जीवन्त झल्को पनि दिन्छ। यहाँ दर्शन तथा पूजा–आराधना गरे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।
यही विश्वासका कारण वर्षभरि नै यहाँ पूजा, भाकल, दर्शन तथा विभिन्न धार्मिक अनुष्ठान हुने गर्दछन्। विशेष पर्व तथा उत्सवका अवसरमा मन्दिर परिसर भक्तजनहरूको उल्लेख्य उपस्थितिले भरिभराउ हुने गर्दछ। धार्मिक महत्वसँगै कान्छी बराह मन्दिरले स्थानीय संस्कृति संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ।
प्राकृतिक दृष्टिले पनि यो क्षेत्र अत्यन्त रमणीय छ। मन्दिर परिसरबाट देखिने माछापुच्छ्रे र अन्नपूर्ण साउथ हिमालको मनोरम दृश्यले जो–कोहीलाई आकर्षित गर्छ। यही कारणले धार्मिक पर्यटनसँगै ग्रामीण तथा सांस्कृतिक पर्यटनको पनि राम्रो सम्भावना देखिन्छ।
मन्दिरभन्दा तल अवस्थित ताञ्चोक गाउँ यस क्षेत्रको अर्को आकर्षण हो। यहाँ पुग्ने पर्यटकहरूले गाउँको रैथाने संस्कृति, परम्परागत जीवनशैली तथा स्थानीय होमस्टेको न्यानो आतिथ्यताको आनन्द लिन सक्छन्।
लुम्लेबाट कच्ची सडक हुँदै करिब ३५ देखि ४० मिनेटमा पुग्न सकिने यो मन्दिरमा आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार गर्न सके धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने प्रबल सम्भावना रहेको देखिन्छ।

0 Comments
Please do not enter any spam link in the comment box.