पोखरा नजिकै गाउँघरको अनुभव गर्न घाँटीछिना सामुदायिक बराङ होमस्टे

पोखरा महानगरपालिका–२३ मा पर्ने घाँटीछिना सामुदायिक बराङ होमस्टे प्राकृतिक र सांस्कृतिक रूपमा धनी ग्रामीण बस्ती हो । यहाँको मुख्य आकर्षण भनेको समुदायमा आधारित होमस्टे पर्यटन हो, जसले स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्ने अवसर दिन्छ ।

बराङ गाउँ पोखराको लेकसाइडबाट करिब १३ किलोमिटर पश्चिमतर्फ अवस्थित छ । यो गाउँ बाट हरियाली डाँडाकाँडा, झरना, खेतबारी र हिमाली दृश्यको अवलोकन गर्न सकिन्छ । यहाँ ब्राह्मण, क्षेत्री लगायत मिश्रित समुदायको बसोबास रहेको पाइन्छ । गाउँमा अझै पनि परम्परागत जीवनशैली, संस्कृति र आतिथ्यता जोगिएको छ । 

२०७६ सालमा आधिकारिक रुपमा दर्ता गरी शुरू गरिएको यस गाउँका ११ घर होमस्टेमा आवद्ध छन् । शुरुवाती दिनमा पाहुनाको उल्लेख्य आगमन रहेपनि कोरोना कहरपछि फाट्टफुट्ट मात्र आउने गरेको होमस्टेका अध्यक्षले बताउनुभयो । 

उहाँका अनुसार यस होमस्टेले एकैपटक आउने ५५ जना सम्मको समुहलाई सेवा दिन सक्छ । होमस्टेमा आउने पाहुनालाई आफ्नै खेत बारीमा उत्पादन भएका अर्गानिक खानाले स्वागत गरिने उहाँको भनाई छ । यद्यपी, होमस्टे प्रवर्द्वन तथा चलायमान गराउनका लागि राज्यका तर्फबाट उचित सहयोग नमिलेको उहाँको गुनासो छ । 

घाँटीछिना सामुदायिक बराङ होमस्टे लेकसाइड स्थित हल्लनचोक, पामे, घाँटीछिना हुँदै २० मिनेटमा सजिलै पुग्न सकिन्छ ।