पोखरा महानगरपालिका–३१ मा अवस्थित पचभैया सामुदायिक होमस्टे प्रकृतिको काखमा बसेको शान्त र मनमोहक गन्तव्य हो। वि.सं. २०६८ सालदेखि सञ्चालनमा आएको यस होमस्टेमा हाल २१ घर आवद्ध छन्।
आँखा अगाडि फैलिएको मनास्लुदेखि धौलागिरी हिमालसम्मको दृश्य, छेउमै शान्त वेगनास र रूपा ताल, अनि वरिपरि हरियाली वन—यी सबैले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउंछ।
यहाँ आउने पाहुनालाई वेगनास र रूपा तालको ताजा माछा, सिजन अनुसारका तरकारी तथा स्थानीय परिकारले स्वागत गरिन्छ।
यहाँका बौद्ध गुम्बा, रूपाताल माथिको झोलुङ्गे पुल, विपश्यना केन्द्र, चिडियाखाना र हरियाली वनभित्रका फुट ट्रयाकहरू थप आकर्षणका केन्द्र हुन्।
होमस्टेका अध्यक्ष रामभक्त थापाका अनुसार, यहाँका प्रत्येक घरमा ५–६ जनासम्मको समूहलाई सहज रूपमा सेवा प्रदान गर्न सकिन्छ।
बस्न आउने पाहुनाका लागि मात्र होइन, दिनमा घुम्न आउने आगन्तुकहरूका लागि पनि यहाँ स्वादिलो खाना तथा खाजाको व्यवस्था रहने गर्छ ।
बजारबाट नजिकै, स्थानीय स्तरमै उत्पादित कफीको स्वाद लिँदै प्रकृतिको आनन्द लिन सकिने यो ठाउँ सबैका लागि विशेष बन्ने बताउनुहुन्छ होमस्टेका उपाध्यक्ष रविभक्त थापा।
चराहरूको चिरबिर, शान्त वातावरण र मनमोहक दृश्यले प्रेरित भएर धेरै फिल्मकर्मीहरू यहाँ स्क्रिप्ट लेख्न आउने गर्छन्।
व्यस्त् दैनिकी र तनावबाट मुक्ती पाउन तथा साथीभाई र परिवारसँग पोखरा नजिकै, कतै शान्त वातावरणमा बसाइको अनुभव लिन चाहनुहुन्छ पचभैया होमस्टे तपाईंका लागि उत्कृष्ट रोजाइ बन्न सक्छ।
