पोखरा । लामो समय विदेशमा बिताएपछि आफ्नै जन्मथलो फर्किएर गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गर्ने नेपालीहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ। यही सोचलाई व्यवहारमा उतार्ने उदाहरण बन्नुभएको छ पोखरा महानगरपालिका–२० डाँडागाउँका प्रदीप गुरुङ।
करिब १८ वर्ष दक्षिण कोरियामा बिताउनुभएका गुरुङले अहिले आफ्नै गाउँमा फर्किएर ‘डाँडागाउँ कटेज’ सञ्चालन गरिरहनुभएको छ। विदेशमा लामो समय काम गरेर फर्किएपछि उहाँले गाउँमा कृषि तथा पशुपालनबाट आफ्नो नयाँ यात्रा सुरु गर्नुभएको थियो।
प्रदीप करिब छ–सात वर्षअघि नेपाल फर्किनुभएको हो। गाउँ फर्किँदा उहाँको पुरानो घर जीर्ण अवस्थामा थियो। घरका संरचना बिग्रिएका थिए भने गाउँमा मानिसहरूको चहलपहल पनि निकै कम थियो। तर, आफ्नो जन्मथलोको सम्भावनालाई गुरुङले त्यहीँबाट खोज्न थाल्नुभयो।
गाउँ फर्किएपछि गुरुङले सुरुमा तरकारी खेतीसँगै कुखुरा, बाख्रा र भैँसी पालन सुरु गर्नुभयो। त्यही समयमा गाउँमा सडक निर्माणको काम पनि भइरहेको थियो। सडक विस्तार हुँदै गर्दा गाउँमा केही नयाँ गर्न सकिन्छ भन्ने सोच उहाँको मनमा पलाउँदै गयो।
‘आफ्नो ठाउँमा कसैले केही नगरे पनि मैले केही गर्नुपर्छ’ भन्ने सोचले अन्ततः प्रदिपलाई कटेज सञ्चालन गर्ने निर्णयसम्म पुर्यायो।
विदेशको कमाइभन्दा आफ्नै ठाउँमा केही गर्ने सोच
दक्षिण कोरियामा १८ वर्ष बिताउनुभएका गुरुङका लागि नेपाल फर्किने निर्णय सहज थिएन। विदेशमा लामो समय काम गरेर केही आम्दानी र अनुभव हासिल गरेपछि पनि उहाँले अन्ततः आफ्नै गाउँ फर्कने निर्णय गर्नुभयो।
प्रदीपका अनुसार विदेशमा धेरै नेपाली लामो समय बिताइरहेका छन्। कमाइ गर्दै त्यहीँको जीवनमा अभ्यस्त भइरहने अवस्था देखेपछि उहाँलाई भने आफ्नै ठाउँमा फर्किएर केही गर्नुपर्छ भन्ने लाग्यो।
आफ्नै ठाउँमा सानो व्यवसाय सुरु गर्न सके आफू मात्र नभई स्थानीय भाइबहिनीहरूलाई समेत रोजगारीको अवसर सिर्जना गर्न सकिने उहाँको सोच थियो। त्यही सोचले गुरुङलाई फेरि गाउँतर्फ फर्कायो।
करिब साढे दुई करोड लगानी
गाउँमा व्यवसाय सञ्चालन गर्न सजिलो थिएन। विशेषगरी पहाडी क्षेत्रमा संरचना निर्माण, सामग्री ढुवानी तथा अन्य व्यवस्थापनमा अतिरिक्त खर्च लाग्छ।
प्रदीपका अनुसार डाँडागाउँ कटेज निर्माण तथा संरचना तयार गर्न हालसम्म करिब साढे दुई करोड रुपैयाँको हाराहारीमा लगानी भइसकेको छ।
कटेज करिब एक वर्षअघि सञ्चालनमा आएको हो। गुरुङले गाउँको शान्त वातावरण र पोखराको बजार क्षेत्रबाट सहजै पुग्न सकिने अवस्थालाई व्यवसायको मुख्य आधार बनाउनुभएको छ।
पोखरा बजारबाट करिब १५–२० मिनेटमै पुग्न सकिने भएकाले शान्त वातावरणमा केही समय बिताउन चाहनेहरूका लागि डाँडागाउँ उपयुक्त गन्तव्य बन्न सक्ने उहाँको विश्वास छ।
‘सहरबाट अलि माथि, आफ्नै गाउँको वातावरण’
पछिल्लो समय युवापुस्तामा भीडभाडयुक्त बजारभन्दा केही शान्त र प्राकृतिक वातावरणमा बसेर खाना खाने, साथीभाइसँग समय बिताउने तथा गाउँको वातावरण अनुभव गर्ने रुचि बढ्दै गएको छ।
गुरुङले पनि यही बदलिँदो रुचिलाई ध्यानमा राखेर डाँडागाउँ कटेजको अवधारणा अघि बढाउनुभएको हो।
उहाँका लागि यो केवल व्यवसाय गर्ने ठाउँ मात्र होइन, गाउँको प्राकृतिक वातावरण र स्थानीय जीवनशैलीलाई आगन्तुकसम्म पुर्याउने माध्यम पनि हो।
आफ्नै उत्पादनलाई प्राथमिकता
डाँडागाउँ कटेजको अर्को विशेषता स्थानीय उत्पादनलाई प्राथमिकता दिने प्रयास हो।
विदेशबाट फर्किएलगत्तै कृषि तथा पशुपालनमा लाग्नुभएका गुरुङले अहिले पनि आफ्नै ठाउँमा उत्पादन भएका सामग्रीलाई प्रयोग गर्ने प्रयास गरिरहनुभएको छ।
उहाँ आफैंले तरकारी खेती गर्नुका साथै पशुपालनसमेत गर्दै आउनुभएको छ। सकेसम्म आफ्नै ठाउँमा उत्पादन भएका सामग्रीलाई कटेजमा प्रयोग गर्ने गुरुङको योजना छ।
बजारबाट सबै सामग्री किनेर ल्याएर खाना बनाउनुको सट्टा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा एकातर्फ ग्राहकलाई स्थानीय स्वाद दिन सकिने र अर्कोतर्फ गाउँको कृषि उत्पादनलाई समेत बजार दिन सकिने उहाँको विश्वास छ।
विदेशबाट फर्किएको एउटा नयाँ यात्रा
१८ वर्ष दक्षिण कोरियामा बिताएर फर्किनुभएका गुरुङको अहिलेको यात्रा विदेशमा कमाएको पैसा गाउँमा लगानी गर्ने मात्र होइन, आफ्नो जन्मथलोको सम्भावना खोज्ने प्रयास पनि हो।
जीर्ण हुँदै गएको पुरानो गाउँ, कम हुँदै गएको जनसंख्या र विकासको पर्खाइमा रहेको ठाउँलाई उहाँले आफ्नो कर्मथलो बनाउनुभएको छ।
तरकारी खेती र पशुपालनबाट सुरु भएको प्रदीपको यात्रा अहिले डाँडागाउँ कटेजसम्म आइपुगेको छ।
‘आफ्नो ठाउँमा फर्किएर आफ्नै व्यवसाय गर्ने र अरूलाई पनि काम दिन सक्ने वातावरण बनाउने’ उहाँको सोचले गाउँमै केही गर्न चाहनेहरूका लागि एउटा उदाहरण प्रस्तुत गरेको छ।
डाँडागाउँको शान्त वातावरण, स्थानीय उत्पादन र गाउँमै बसेर केही गर्ने प्रदिप गुरुङको प्रयासले आगामी दिनमा यस क्षेत्रलाई ग्रामीण पर्यटनको एउटा सम्भावित गन्तव्यका रूपमा विकास गर्न सक्ने अपेक्षा गर्न सकिन्छ।
सम्पर्क : ९८५६०२४९३६, ९८०५१६४८२१ (प्रदिप गुरुङ )
युट्युबमा हेर्नुहोस् !

0 Comments
Please do not enter any spam link in the comment box.