बसाइँसराइले रित्तिँदै गएको तान्चोक गाउँमा घरवासको नयाँ आशा

कास्की। अन्नपूर्ण गाउँपालिका–७ मा अवस्थित तान्चोक गुरुङ समुदायको इतिहास, संस्कृति र मौलिक पहिचान बोकेको निकै पुरानो बस्ती हो। कुनै समय झन्डै ५० घरधुरीले भरिभराउ रहेको यो गाउँ आज बसाइँसराइको प्रभावले ८–१० घरमा मात्र सीमित भएको छ। गाउँ रित्तिँदै गए पनि यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आत्मीय ग्रामीण जीवनशैली भने अझै जीवन्त छ।

तान्चोक गाउँमाथि प्रसिद्ध कान्छी बराह मन्दिर अवस्थित छ। यहाँ पुग्ने जो–कोहीले गाउँको सामुन्नेबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई अत्यन्तै नजिकबाट नियाल्न सक्छन्। हिमाल, हरियाली, शान्त वातावरण र गुरुङ संस्कृतिको मौलिक स्वादले तान्चोकलाई विशेष बनाएको छ।

बसाइँसराइले गाउँ सुनसान बन्दै गइरहेका बेला पछिल्लो समय गाउँकै एक–दुई युवाले विदेशबाट फर्किएर गाउँलाई फेरि चलायमान बनाउने प्रयास थालेका छन्। औपचारिक रूपमा होमस्टे दर्ता नभए पनि उनीहरूले आफ्नै घरमा घरवासको सुरुआत गरेका छन्। गाउँमा आउने पाहुनालाई स्थानीय परिकार, ग्रामीण जीवनशैली र आत्मीय आतिथ्यको अनुभव गराउने उनीहरूको प्रयास तान्चोकका लागि आशाको नयाँ किरण बनेको छ।

नेपालका यस्ता मौलिक र ऐतिहासिक गाउँहरू केवल सम्झनामा सीमित नहोस् भन्ने हो भने यस्ता पहललाई साथ दिनु आवश्यक छ। गाउँ जोगिने केवल सरकारी योजनाले मात्र होइन, गाउँ पुग्ने यात्रु, त्यहाँ बस्ने पाहुना र स्थानीय उत्पादनको उपयोग गर्ने हामी सबैको सहभागिताले पनि हो।

यदि तपाईं प्रकृतिको काखमा केही समय शान्तसँग बिताउन चाहनुहुन्छ भने, एक दिन कान्छी बराह मन्दिरको दर्शन गर्दै तान्चोक गाउँमा घरवासको अनुभव लिन समय छुट्याउनुहोस्। तपाईंको एउटा यात्रा केवल घुमफिर मात्र हुनेछैन, रित्तिँदै गइरहेका नेपालका यस्ता सुन्दर गाउँहरूको भविष्य जोगाउने अभियानमा सानो तर अर्थपूर्ण योगदान पनि बन्न सक्छ।

यो गाउँ कास्कीको लुम्ले घुम्तीबाट दायाँ कच्ची बाटो अन्दाजी ४० मिनेटको यात्रामा पुग्न सकिन्छ। 

सम्पर्क : ९८०५२३७३६६ 

Post a Comment

0 Comments