च्याङलुङ गाउँ — इतिहास, संस्कृति र पर्यटनको सम्भावना

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ मा अवस्थित च्याङलुङ गाउँ प्राकृतिक सुन्दरतासँगै आफ्नै इतिहास, मौलिक संस्कृति र पुरानो जीवनशैली बोकेको गाउँ हो। पहाडको काखमा रहेको यो गाउँ पछिल्लो समय ग्रामीण पर्यटनको सम्भावनाका कारण पनि चर्चा हुन थालेको छ।

स्थानीय बुढापाकाहरूका अनुसार च्याङलुङका पुर्खाहरू सिक्लेसबाट आएर सुरुमा गाउँभन्दा माथिल्लो डाँडामा बसोबास गरेका थिए। हिमालको नजिक भएकाले त्यहाँ अत्यधिक जाडो हुने भएपछि जाडो छल्न तलको तुलनात्मक रूपमा न्यानो क्षेत्रमा झरेर बसोबास गर्न थालेको स्थानीय भनाइ छ।

गाउँको नाम कसरी रह्यो भन्ने विषयमा पनि स्थानीयस्तरमा आफ्नै मान्यता छ। स्थानीय भनाइअनुसार ‘चु’ भनेको स्थापना र ‘लो’ भनेको क्षेत्र वा एरिया भन्ने अर्थ लाग्ने भएकाले यहाँ आएर बसोबास गरिएको क्षेत्रलाई ‘चु–लो’ भनिन्थ्यो। समयक्रमसँगै यही शब्द अपभ्रंश हुँदै ‘च्याङलुङ’ नाम रहन गएको स्थानीयको विश्वास छ।

हाल च्याङलुङमा ५५ घरधुरी रहेका छन्। तर, वैदेशिक रोजगारी र बसाइँसराइका कारण तीमध्ये करिब ३० देखि ३५ घरमा मात्रै नियमित बसोबास हुने गरेको स्थानीय बताउँछन्। गाउँका अधिकांश युवा रोजगारीका लागि विदेशमा रहेकाले यसको प्रभाव स्थानीय कृषि प्रणालीमा समेत परेको छ।

गाउँलाई पर्यटनसँग जोड्ने उद्देश्यले स्थानीय मिम्फल गुरुङले २०७५ सालदेखि होमस्टे सञ्चालन गर्दै आउनुभएको छ। उहाँको होमस्टेमा एकपटकमा करिब १२ देखि १३ जनासम्म पाहुना राख्न सकिने व्यवस्था छ। त्यसभन्दा ठूलो समूह आएमा गाउँका अन्य घरसँग समन्वय गरेर बसोबासको व्यवस्था मिलाउने गरिएको छ।

च्याङलुङ पुग्ने पाहुनाले यहाँको प्राकृतिक वातावरणसँगै स्थानीय खानाको स्वादसमेत लिन पाउँछन्। मौसमअनुसार पाइने टुसा, निउरो, कुरिलो लगायत गाउँमै उत्पादन हुने ताजा तथा अर्गानिक तरकारीबाट स्थानीय परिकार तयार गरिन्छ। आफ्नै गाउँघरमा उत्पादन भएको ताजा खाना खान पाउँदा पाहुनाहरू पनि खुसी हुने गरेको स्थानीयको अनुभव छ।

ठूला समूहमा पाहुना आएमा गाउँका आमा तथा छोरीहरू मिलेर स्थानीय नाचगान प्रस्तुत गर्ने चलनसमेत छ। यसले पाहुनालाई च्याङलुङको मौलिक संस्कृति र ग्रामीण जीवनशैलीसँग नजिकबाट जोड्ने गरेको छ।

च्याङलुङको अर्को महत्वपूर्ण विशेषता ढुंगाको प्रयोग

स्थानीयका अनुसार गाउँका कतिपय घर सय वर्षभन्दा पनि पुराना छन्। घरका छाना, आँगन तथा गाउँका बाटोघाटोमा प्रयोग गरिएका ठूला–ठूला स्थानीय ढुंगाले यहाँको परम्परागत वास्तुकलाको झल्को दिन्छन्।

सडक तथा अन्य पूर्वाधार विस्तार हुँदै जाँदा गाउँ छाडेर बाहिरिएका मानिसहरू पनि भविष्यमा आफ्नै गाउँ फर्किने वातावरण बन्ने आशा स्थानीयमा देखिन थालेको छ।

प्राकृतिक सुन्दरता, गुरुङ संस्कृति, पुराना ढुंगे घर, परम्परागत खेतीपाती, स्थानीय खानाको स्वाद र होमस्टे यी सबैलाई एकै ठाउँमा अनुभव गर्न सकिने भएकाले च्याङलुङ ग्रामीण पर्यटनका लागि सम्भावनायुक्त गन्तव्य बन्न सक्छ।

सरकारी तहबाट आवश्यक पूर्वाधार विकाससँगै उचित प्रचारप्रसार र संरक्षणमा ध्यान दिन सके, च्याङलुङ गाउँ आगामी दिनमा पोखरा नजिकैको आकर्षक ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ।

मिम्फल गुरुङ : ९८१६६-४१५५५, ९८०६६-७३७७२ 

Post a Comment

0 Comments