च्याङलुङ गाउँ — इतिहास, संस्कृति र पर्यटनको सम्भावना

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ मा अवस्थित च्याङलुङ गाउँ। पहाडको काखमा रहेको यो गाउँ प्राकृतिक सुन्दरतासँगै आफ्नै इतिहास, मौलिक संस्कृति र पुरानो जीवनशैली बोकेर उभिएको छ।

स्थानीय बुढापाकाहरूका भनाइअनुसार, च्याङलुङका पुर्खाहरू सिक्लेसबाट आएर सुरुमा गाउँभन्दा माथिको डाँडामा बसोबास गर्थे। हिमालको काखमा भएकाले त्यहाँ जाडो अत्यधिक हुने भएपछि जाडो छल्न तलको न्यानो ठाउँमा आएर बसोबास गर्न थालेको बताइन्छ।

स्थानीय भनाइअनुसार ‘चु’ भनेको स्थापना र ‘लो’ भनेको क्षेत्र वा एरिया भन्ने अर्थमा यहाँ आएर बसोबास गरिएको थियो। समयक्रमसँगै यही शब्द अपभ्रंश हुँदै अहिले ‘च्याङलुङ’ नाम रहन गएको मानिन्छ।

हाल च्याङलुङमा ५५ घरधुरी छन्। तर तीमध्ये करिब ३० देखि ३५ घरमा मात्रै नियमित बसोबास छ।

वैदेशिक रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकांश युवा विदेशमा छन्। यसको प्रभाव गाउँको कृषि प्रणालीमा पनि परेको छ। यद्यपि यहाँ अझै धान, मकै लगायतका परम्परागत खेतीपाती कायमै छ। व्यावसायिकभन्दा पनि पुरानै रैथाने शैलीमा खेती गर्ने चलन यहाँ अझै जीवित छ।

गाउँलाई पर्यटनसँग जोड्ने उद्देश्यले स्थानीय मिम्फल गुरुङले २०७५ सालदेखि होमस्टे सेवाको सुरुवात गर्नुभएको छ। उहाँको घरमा हाल एकपटकमा करिब १२ देखि १३ जनासम्म पाहुना राख्ने क्षमता छ भने, त्योभन्दा बढी समुहमा आए गाउँका अन्य घरमा समेत मिलेर बसोबासको व्यवस्था गर्न सकिन्छ।

च्याङलुङ पुग्ने पाहुनाले यहाँको प्राकृतिक वातावरणसँगै स्थानीय स्वाद पनि अनुभव गर्न पाउँछन्।

मौसमअनुसार पाइने तुसा, डिउरो, कुरेलो लगायत गाउँमै उत्पादन हुने ताजा तथा अर्ग्यानिक तरकारीबाट स्थानीय परिकार तयार गरिन्छ। आफ्नै गाउँघरमा उत्पादन भएको ताजा खाना खान पाउँदा पाहुनाहरू पनि खुसी हुने गरेका छन्।

समूहमा पाहुना आएमा गाउँका आमा तथा छोरीहरू मिलेर नाचगान गर्दै सांस्कृतिक मनोरञ्जनसमेत गराउने गरिन्छ। यसले पाहुनालाई च्याङलुङको मौलिक जीवनशैलीसँग अझ नजिक बनाउने गरेको छ।

च्याङलुङको अर्को महत्वपूर्ण विशेषता ढुंगाको प्रयोग


गाउँका कतिपय घरहरू सय वर्षभन्दा पुराना रहेको स्थानीय बताउँछन्। घरका छाना, आँगन तथा गाउँका बाटोघाटोमा प्रयोग गरिएका ठूला–ठूला स्थानीय ढुंगाले यहाँको पुरानो वास्तुशैलीको झल्को दिन्छन्।

कतिपय घरका आँगनमा बिछ्याइएका ढुंगा पाँच फिटभन्दा पनि लामा छन्। त्यतिबेला यति ठूला ढुंगा कसरी ल्याइए होलान् भन्ने कुरा अहिले पनि अचम्म लाग्ने गर्छ। तर, यही पुरानो सम्पदा र मौलिक जीवनशैली नै च्याङलुङको पर्यटनको महत्वपूर्ण आधार बन्न सक्छ।

पछिल्लो समय यहाँ बाहिरबाट आउने समूह तथा विद्यार्थीहरूको आवागमन पनि बढ्न थालेको छ।

हालै काठमाडौंको कसमस कलेजका ४५ जना विद्यार्थी र तीन जना शिक्षक–शिक्षिका च्याङलुङ आएर करिब एक हप्तासम्म गाउँमै बसे। उनीहरूले गाउँको वातावरण, स्थानीय जीवनशैली र ग्रामीण परिवेशलाई नजिकबाट अनुभव गरे।

यस्ता आगन्तुकको आगमनले च्याङलुङको पर्यटन सम्भावनालाई थप फराकिलो बनाउने विश्वास स्थानीयको छ।

सडक तथा अन्य सुविधाहरू विस्तार हुँदै जाँदा, पहिले गाउँ छाडेर गएकाहरू पनि फेरि आफ्नै गाउँ फर्किने वातावरण बन्ने आशा स्थानीयमा देखिन थालेको छ।

सरकारी तबरबाट आवश्यक पूर्वाधार र उचित प्रवर्द्धन हुन सके, च्याङलुङ गाउँ आगामी दिनमा ग्रामीण पर्यटनको एउटा आकर्षक गन्तव्य बन्नेमा शंका छैन। 

होमस्टे बस्नका लागि। 

मिम्फल गुरुङ : ९८१६६-४१५५५, ९८०६६-७३७७२ 

Post a Comment

0 Comments