मगर संस्कृति र गाउँले आत्मीयताको अनुपम संगम - राना गाउँ होमस्टे

तनहुँ जिल्लाको भानु नगरपालिका–४ मा अवस्थित राना गाउँ भालडाँडा सामुदायिक होमस्टे प्राकृतिक सौन्दर्य, मगर संस्कृति र ग्रामीण जीवनशैलीलाई नजिकबाट अनुभव गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो। आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घाबाट करिब ३ किलोमिटर तल रहेको यस मगर बस्तीमा ४२ घरधुरी रहेका छन्, जसमा २७ घरधुरी राना मगर समुदायका छन्।

राना गाउँबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु र गणेश हिमाललगायतका मनमोहक हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ। वर्षभरि शीतल मौसम रहने यस गाउँमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कालिका मन्दिर पनि अवस्थित छ, जसले यहाँको आकर्षणलाई थप विशेष बनाएको छ।

एसियन फोरमको सहयोगमा विसं २०७१ सालदेखि सञ्चालनमा आएको सामुदायिक होमस्टे अन्तर्गत हाल मगर समुदायका ११ घरमा पर्यटकलाई आवासको व्यवस्था गरिएको छ। यहाँ आउने पाहुनालाई स्थानीय अर्ग्यानिक उत्पादनबाट तयार गरिएका स्वादिष्ट परिकारको स्वाद चखाइन्छ। साथै, मगर समुदायको मौलिक कौरा नृत्य, सांस्कृतिक कार्यक्रम तथा गाउँलेहरूको आत्मीय आतिथ्यले पर्यटकको बसाइलाई अझ अविस्मरणीय बनाउँछ।

राना गाउँ कृषि उत्पादनका हिसाबले पनि सम्पन्न छ। यहाँ मकै, कोदो, फापर, भटमास, सागसब्जी, गोलभेंडा, फर्सी, काँक्रोलगायतका बाली उत्पादन हुने गर्छन् भने अधिकांश घरमा कुखुरा र बाख्रापालन पनि गरिएको छ। पर्यटकले स्थानीय उत्पादन, मासु, भटमास, सुन्तला तथा मौसमी कृषि उपज कोसेलीका रूपमा लैजान सक्ने सुविधा पनि छ।

कसरी पुग्ने ?

डुम्रे–बेँसीसहर सडकखण्डको भन्सारबाट करिब ९ किलोमिटर दूरीमा राना गाउँ पुग्न सकिन्छ। डुम्रे बजारबाट दैनिक दिउँसो करिब ३:०० बजे र ३:३० बजे राना गाउँतर्फ सार्वजनिक सवारी सञ्चालन हुने भएकाले यात्रा गर्न सहज छ।

सम्पर्क 

पदमबहादुर राना - ९८१४१७३४६१ 

रूप बहादुर राना -९८४६११३२५२ 

Post a Comment

0 Comments