कुरा गाउँ पोखरा महानगरपालिका–२० मा पर्ने एक शान्त, सुन्दर र ऐतिहासिक गुरुङ बस्ती हो। झन्डै ३० घरधुरी रहेको यो गाउँ अहिले बसाइसराइको प्रभावले जम्मा ५ घरमा मात्र सीमित भएको छ। कुनै समय चहलपहल, हाँसोखुसी र गाउँले जीवनले भरिपूर्ण यो बस्ती आज सुनसान बन्दै गएको छ।
आजभन्दा १५–२० वर्षअघि कुरा गाउँ निकै गुल्जार थियो। गाउँमा खेतीपाती, मेलापात, चाडपर्व र सामूहिक जीवनशैलीको रौनक थियो। तर समयसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र आधुनिक सुविधाको खोजीमा गाउँका मानिसहरू पोखरा झर्न थाले। यही क्रम बढ्दै जाँदा गाउँका धेरै घर खाली र उजाड बन्न पुगेका छन् ।
पोखराबाट करिब आधा घण्टामै पुग्न सकिने कुरा गाउँ पछिल्लो समय नेपालमा बढ्दो बसाइसराइले ग्रामीण बस्तीमा पारेको असरको जीवित उदाहरण बनेको छ। कुरा गाउँको कथा केवल एउटा गाउँको कथा होइन, यो नेपालका सयौँ गाउँहरूमा देखिएको वास्तविकताको प्रतिबिम्ब हो।

0 Comments
Please do not enter any spam link in the comment box.