कश्यप ताल : ऐतिहासिक महत्व बुझाउँदै, पर्यटन प्रवर्द्धनको पर्खाइमा

पोखरा महानगरपालिका–२४, कास्कीकोटमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण 'ठुलीपोखरी' अर्थात् 'कश्यप ताल' यस क्षेत्रको महत्वपूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ। 

स्थानीय किंवदन्तीअनुसार, प्राचीन समयमा कश्यप ऋषिले यस क्षेत्रमा स्नान तथा तपस्या गरेका कारण यस तालको नाम कश्यप ताल रहन गएको स्थानीय भनाइ छ । चार वेद मध्येको एक यजुर्वेद लेखेको विश्वास गरिने कश्यप ऋषिले स्नान गर्ने गरेको यस ताललाई धार्मिक एवं संस्कृतिक रूपमा पनि उत्तिकै महत्त्वका साथ लिने गरिएको छ ।

हरियाली डाँडाकाँडा र ऐतिहासिक कास्कीकोट दरबारको काखमा रहेको यो ताल प्राकृतिक सम्पदासँगै स्थानीय इतिहास, संस्कृति र जनजीवनसँग पनि जोडिएको छ। विशेषगरी बालाचतुर्थीका दिन यहाँ सतबीज छर्न आउने श्रद्धालुहरूको उल्लेख्य भीड लाग्ने गर्दछ।

यस तालको आसपासबाट देखिने सुन्दर प्राकृतिक दृश्य र कास्कीकोट क्षेत्रको ऐतिहासिक महत्त्वले यसको पर्यटकीय सम्भावनालाई अझ विशेष बनाएको छ। त्यति मात्र होइन, हिउँदको समयमा यो ताल स्थानीयका लागि पानीको महत्वपूर्ण स्रोतसमेत बनेको छ। तर, केही वर्षयता तालमा पानीको सतह घट्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्दै आएका छन्। 

पोखराबाट नजिकै रहेको इतिहास, धार्मिक आस्था र प्राकृतिक सुन्दरताले भरिएको कश्यप तालको प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके यो ताल पोखराको अर्को आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ। 

कश्यप तालको संरक्षण गर्दै यसको इतिहास, पहिचान र सुन्दरतालाई जोगाइराख्नु हामी सबैको साझा जिम्मेवारी हो।

Post a Comment

0 Comments