अर्मलाकोट होमस्टे पोखरा महानगरपालिका–१६ मा पर्ने, शान्त र प्राकृतिक सौन्दर्यले भरिएको अर्को सुन्दर ग्रामीण बस्ती हो । पर्यटकीय शहर पोखराबाट नजिकै भए पनि यो गाउँ अझैसम्म ग्रामीण मौलिकता, परम्परा र संस्कृतिलाई जोगाइराख्न सफल भएको छ ।
२०७५ सालबाट होमस्टे सुरू गरिएको यो गाउँका १० घर होमस्टेमा आवद्ध छन् । झन्डै ७० घरधुरी रहेको यो गाउँ बसाइसराइका कारण खाली बन्दै जाँदा गाउँमा संचालित होमस्टेले खुशी थपेको ६ नं होमस्टेका संचालक लक्ष्मण गुरुङले बताउनुभयो।
गुरुङका अनुसार यस होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादित लोकल धानको चामल, कोदोको ढिंडो, कोदोको रोटी, लोकल कुखुराको मासु र सिजन अनुसारका तरकारी उपलव्ध गराइन्छ।
एकैपटक आउने ७० जनासम्मको पाहुनाको टोलीलाई सेवा दिन सक्ने यस होमस्टेमा आउने जो कोहिले परम्परागत घर, स्थानीय गुरुङ संस्कृती र जीवनशैलीको नजिकबाट अनुभव गर्न पाउँछन् ।
यस होमस्टेबाट हरियाली डाँडाकाँडा, खुला आकाश, माछापुछ्रे हिमश्रृंखलाको सुन्दर दृश्य सहित सुन्दर नगरी पोखराको दृश्यावलोकन गर्न सकिन्छ ।
यातायातको दृष्टिले पनि अर्मला सजिलै पुग्न सकिने गन्तव्य हो । पोखराबाट भलाम, डाँडागाउँ तथा महेन्द्र गुफा हुँदै करिब ३५–४० मिनेटमै सवारी साधनबाट पुग्न सकिन्छ भने हाइकिङ वा ट्रेकिङ गर्नेहरूका लागि करिब डेढ–दुई घण्टाको रमाइलो पदयात्रामार्फत पनि सजिलै पुग्न सकिन्छ ।
होमस्टेको सम्पर्क :९८०६७०१५०४ ,९८४४९३१६२२

0 Comments
Please do not enter any spam link in the comment box.