सिधाने सामुदायिक होमस्टे कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ मा पर्ने सिधाने गाउँमा अवस्थित छ । यो गाउँ पन्चासे क्षेत्रतर्फ जाने रुट मध्येको एक प्रमुख गाउँ पनि हो । जुन प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र ग्रामीण जीवनशैलीले सम्पन्न छ ।
२०७४ सालमा होमस्टे संचालन गर्दा गाउँका ७६ घर मध्ये १६ घर होमस्टेमा आवद्ध भएपनि तीब्र बसाइसराइका कारण हाल २ घरमा मात्र होमस्टे संचालनमा छन् । होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादित लोकल चामल, कोदोको रोटी, ढिँडो, गुन्द्रुकको अचार, भट्ट, मकै, सिजन अनुसारका तरकारी, दूध घ्यू र मोही जस्ता स्थानीय परिकारले स्वागत गरिने होमस्टेका संयोजक होम बहादुर गुरुङले बताउनुभयो ।
दुई घरमा होमस्टे संचालनमा भएपनि सिधाने सामुदायिक होमस्टेले ग्रुपमा आउने ४० जनासम्मको समुहलाई सेवा दिन सक्छ । बसाइसराइका कारण गाउँ रित्तिंदै गइरहेको र सम्बन्धित निकायबाट सहयोग र उचित प्रचारप्रसार नहुँदा अपेक्षा गरिए अनुसारका पाहुना नआउँदा होमस्टे संचालनमा समस्या रहेको उहाँको दुखेसो छ।
सिधाने सामुदायिक होमस्टे शान्त, हरियाली र हिमाली दृश्यले भरिएको गुरुङ बस्ती हो।
यहाँका घर आँगनबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको फरक कोणबाट अवलोकन गर्न सकिन्छ। जंगल, खेतबारी, खुला स्वच्छ आकाशले भरिएको वातावरण अनि शहरको भीडभाडबाट टाढा भएकाले एकान्त मनपराउने पर्यटकका लागि यो होमस्टे निकै नै उपयुक्त मानिन्छ ।
पोखराको हल्लनचोक बाट करिब २०–२२ किमी दूरीमा रहेको यो गाउँ घाँटीछिना, दमदमे,हुँदै बस, जीप वा बाइकबाट १ घन्टामा सजिलै पुग्न सकिन्छ ।
