पोखरा महानगरपालिका–३१ स्थित बेगनास–गैरीखेत क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
गैरीखेत नजिकैका बासिन्दा तथा पूर्व शिक्षक भोजराज अधिकारीका अनुसार, पञ्चायती कालदेखि नै यस क्षेत्रमा विदेशी पर्यटकहरू आउने, क्याम्पिङ गर्ने तथा ट्रेकिङ गर्ने गरेका थिए। पछिल्लो समय सामाजिक सञ्जालमार्फत प्रचार बढेपछि आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको उहाँले बताउनुभयो।
बेगनास गाउँबाट बेगनास र रुपातालसँगै आसपासका हरियाली डाँडाकाँडा तथा ग्रामीण बस्तीको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। माझीकुना–भञ्ज्याङ हुँदै नेपालेचौतारा र गैरीखेतसम्म सवारीसाधनबाट पुग्न सकिने भएकाले यहाँ दैनिक ठूलो संख्यामा युवायुवती तथा पर्यटक पुग्ने गरेका छन्।
अधिकारीका अनुसार, यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पदमार्गको नियमित सरसफाइ, खानेपानी, चिया–खाजा तथा अन्य आधारभूत पूर्वाधारमा सुधार गर्न आवश्यक छ। यस स्थानसम्म पुग्न व्यवस्थित सडक तथा पदमार्ग निर्माणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँको जोड छ।
हरिया धानबालीका बीचमा रहेको सानो गोठ र रुखपाखाले यहाँको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ। बेगनास ताललाई आधार बनाएर हेर्दा देखिने यो दृश्य कुनै पोख्त कलाकारले कोरेको काल्पनिक चित्रजस्तै मनमोहक देखिन्छ। यहाँबाट बेगनास र रुपातालसँगै पोखरा आसपासका विभिन्न क्षेत्रको सुन्दर दृश्यसमेत अवलोकन गर्न सकिन्छ।
“व्यवस्थित प्रचारसँगै आवश्यक पूर्वाधार निर्माण गर्न सके बेगनास–गैरीखेतलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्दै स्थानीय आर्थिक गतिविधिसमेत बढाउन सकिने अधिकारीको भनाइ छ।”


0 Comments
Please do not enter any spam link in the comment box.