हुक्का डाँडा अर्थात् लिलिङकोट : बन्दैछ तनहुँको नयाँ पर्यटकीय गन्तव्य

तनहुँको भिमाद नगरपालिका–१, हुक्का गाउँमा रहेको हुक्का डाँडा अर्थात् लिलिङकोट पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विस्तारै परिचित हुँदै गएको छ।

स्थानीयका अनुसार, पहिले गाई चराउन तथा घुमफिरका क्रममा आउने र रमाउने यो स्थान अहिले यसको प्राकृतिक सौन्दर्य र मनोरम दृश्यका कारण पर्यटकको आकर्षण बन्न थालेको हो। अचेल यस ठाउँको अवलोकनका लागि दैनिक दर्जनौँ स्थानीय पर्यटकको भीड लाग्ने गरेको स्थानीय बताउँछन्।

हुक्का डाँडाबाट चारैतिरका सुन्दर भू-दृश्यसँगै भिमाद बजार, रामपुर तथा पाल्पाका विभिन्न क्षेत्र देख्न सकिन्छ। मौसम खुलेका बेला माछापुच्छ्रे हिमाललगायतका हिमशृङ्खला समेत अवलोकन गर्न सकिने स्थानीय थानेश्वर लम्साल बताउनुहुन्छ।

यस क्षेत्रलाई अझ व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयले समिति गठन गरी आवश्यक पूर्वाधार निर्माणको पहल थालेका छन्। खानेपानीका लागि धारा, आगन्तुकका लागि बस्ने स्थान तथा सरसफाइ व्यवस्थापनजस्ता आधारभूत संरचना निर्माणको काम अघि बढिरहेको छ। अहिले वडा कार्यालयबाट समेत प्रारम्भिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ।

हुक्का डाँडा नजिकै धार्मिक महत्व बोकेका विभिन्न मूर्ति तथा संरचनासमेत रहेका छन्। स्थानीय युवाहरूले यस स्थान आसपास सरसफाई गर्ने, झण्डा राख्ने तथा सूचना बोर्ड स्थापना गर्नेजस्ता गतिविधिमार्फत यस ठाउँलाई चिनाउँदै आएका छन्।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ग्रामीण पर्यटनलाई एकै ठाउँमा समेटेर आवश्यक पूर्वाधारको विकाससँगै प्रभावकारी प्रचार–प्रसार गर्न सकेमा हुक्का डाँडा अर्थात् लिलिङकोटलाई तनहुँ जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ।

Post a Comment

0 Comments