गर्लाङ्ग सामुदायिक होमस्टे पोखरा महानगरपालिका वडा नं–१६ स्थित स्थानीय गुरुङ समुदायले सञ्चालन गरेको सुन्दर, मौलिक र आत्मीय होमस्टे हो।
सुरुवाती चरणमा गाउँका ५ घर होमस्टेमा आवद्ध भए पनि हाल दुई घरमा मात्र सेवा सञ्चालन भइरहेको छ। पहाडको खोँचमा अवस्थित यस गाउँबाट टाढासम्मको दृश्यावलोकन कम भए पनि यहाँको शुद्ध अर्गानिक खाना, घरेलु आतिथ्यता, पुरानो तथा मौलिक गुरुङ बस्ती र स्थानीय संस्कृतिले यहाँ पुग्ने जो–कोहीलाई आकर्षित गर्ने गर्छ।
गर्लाङ्ग सामुदायिक होमस्टेका अध्यक्ष डोर बहादुर गुरुङका अनुसार यहाँ आउने पाहुनालाई पूर्ण रूपमा स्थानीय उत्पादनबाट तयार गरिएका अर्गानिक परिकारहरू पस्किने गरिन्छ। गाउँमा उत्पादित अन्न, तरकारी र परम्परागत स्वादले पाहुनालाई फरक अनुभूति दिलाउने गरेको उहाँ बताउनुहुन्छ।
गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा स्थानीय परिवारसँग बसेर नेपाली गाउँले जीवनशैली, परम्परा र संस्कृतिलाई नजिकबाट अनुभव गर्न सकिन्छ। बसाइँसराइका कारण गाउँ खाली हुँदै गइरहेको अवस्थामा गाउँमै आयआर्जनको अवसर सिर्जना गरी गाउँलाई चलायमान बनाउने उद्देश्यले होमस्टे सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो। साथै, एकपटक सेवा गर्ने अवसर दिन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ।
एकैपटक २५ जनासम्मको समूहलाई सेवा दिन सक्ने क्षमता रहेको गर्लाङ्ग सामुदायिक होमस्टे शहरको कोलाहलबाट टाढा शान्त वातावरणमा समय बिताउन चाहने, स्थानीय संस्कृति बुझ्न चाहने तथा प्रकृतिप्रेमीहरूका लागि उत्कृष्ट गन्तव्य बनेको छ।
यो होमस्टे पोखराको लामाचौर, ढिकीडाँडा, हरिपाउ, महेन्द्र गुफा र जैमुरे हुँदै करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ।

0 Comments
Please do not enter any spam link in the comment box.