शिवढुंगा गोरखनाथ गुफा धार्मिक र पर्यटकिय सम्भावनाको अर्को गन्तव्य

शिवढुंगा गोरखनाथ गुफा पोखरा महानगरपालिका वडा नं. २१ मा अवस्थित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण तीर्थस्थल हो । समुद्री सतहबाट करिब १३२० मिटर उचाइमा रहेको यो गुफा प्राकृतिक रूपमा बनेको ढुंगामय गुफा हो, जहाँ विशेष गरी भगवान शिव र गुरु गोरक्षनाथ सँग सम्बन्धित धार्मिक आस्था जोडिएको पाइन्छ ।

स्थानीय जनविश्वासअनुसार गुरु गोरक्षनाथले यस गुफामा तपस्या गर्नुभएको थियो । त्यसैले यो स्थान साधक तथा भक्तजनका लागि विशेष आस्थाको केन्द्रका रूपमा मानिन्छ । गुफाभित्र रहेका प्राकृतिक शिला संरचना, नन्दी र नागका मूर्ति तथा आध्यात्मिक दृश्यले यहाँ पुग्ने दर्शनार्थीलाई विशेष अनुभूति गराउने गर्दछ ।

यस गुफामा विशेषगरी महाशिवरात्रि, वैशाख पूर्णिमा तथा बाला चतुर्दशीका अवसरमा मेला तथा पूजाआजा गरिन्छ। यहाँ श्रद्धापूर्वक पूजा–आराधना गर्नाले नवग्रह शान्ति भई दुःख, कष्ट तथा ग्रहदोष हट्नुका साथै सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

गुफा परिसरबाट पोखरा र लेखनाथ क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । मौसम खुलेको समयमा अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमालय शृंखलाको दृश्य समेत देख्न सकिने भएकाले यो स्थान धार्मिक मात्र नभई प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक गन्तव्य मानिन्छ ।

यो गुफासम्म वयेली, दोपहरे हुँदै कृस्ती जोड्ने पक्की सडकमार्फत सहज रूपमा पुग्न सकिन्छ । पछिल्लो समय सडक पहुँच विस्तार भएसँगै आन्तरिक पर्यटकको आकर्षण पनि क्रमशः बढ्दै गएको पाइन्छ ।

धार्मिक पर्यटन, ध्यान–योग, पदयात्रा तथा गाउँ पर्यटनको सम्भावना बोकेको यस क्षेत्रको उचित संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकास गर्न सकिएमा पोखरा को महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने देखिन्छ ।