कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीमा अवस्थित कोट भैरव मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रसिद्ध शक्तिपीठ हो।
समुद्री सतहबाट करिब १ हजार १६० मिटरको उचाइमा रहेको यो मन्दिर नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठका रूपमा परिचित रहेको बताइन्छ। वरपर भिरालो भूभाग र बीचमा अवस्थित यस रमणीय मन्दिर परिसरबाट उत्तरतर्फ लहरै हिम शृंखलाका साथै कास्की, तनहुँ, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालगायतका जिल्लाहरुको एकैसाथ अवलोकन गर्न सकिन्छ।
यस मन्दिरमा विशेष गरी दशैं, तथा अन्य धार्मिक पर्वहरूमा पूजा–आराधना गरिन्छ। यहाँ दर्शन गरेमा चिताएको पूरा हुने जनविश्वास रहिआएकाले पोखरासहित आसपासका विभिन्न जिल्लाबाट वर्षभरि भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्।
धार्मिक महत्वसँगै पर्यटकीय आकर्षण बोकेको यो स्थल शान्त वातावरण र अद्भुत प्राकृतिक दृश्यका कारण पनि विशेष छ।
पोखराबाट करिब १७ किलोमिटर दूरीमा रहेको यस मन्दिरमा बाघमारा–लामगादी–मालागिरी वा छोरेपाटन, कृस्ती, निर्मलपोखरी र भरतपोखरी हुँदै मनियलडाँडा चोक पुगेर १० मिनेट पैदल यात्रामा पुग्न सकिन्छ।
आस्था, इतिहास र प्रकृतिको अनुपम संगम अनुभूति गर्न चाहनुहुन्छ भने, कोट भैरव मन्दिर तपाईंका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ।

0 Comments
Please do not enter any spam link in the comment box.