कास्की जिल्लाको मादी गाउँपालिका–११, भगवतीटारमा मादी नदीको किनारमा अवस्थित भगवती मन्दिर यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिरका रूपमा परिचित छ।
स्थानीय जनविश्वासअनुसार यहाँ श्रद्धापूर्वक पूजा–आराधना गरेमा मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ। मन्दिरका पुजारी इन्द्रप्रसाद सापोटाका अनुसार भगवती मन्दिरको स्थापना प्राचीनकालदेखि भएको मानिन्छ। पौराणिक कथाअनुसार एक स्थानीय वृद्धले सपनामा देवी भगवतीबाट संकेत पाएपछि मादी नदीको किनारमा रहेको यस स्थान पत्ता लगाई पूजा–आराधना सुरु गरेका थिए। त्यसयता यो स्थान भगवती देवीको शक्तिपीठका रूपमा स्थापित भएको विश्वास गरिन्छ।
मन्दिर परिसरमा रहेको शिलाबाट निरन्तर पानी बग्ने र बेला–बेलामा नाग देखिने पुजारी सापकोटाले बताउनुभयो। उहाँका अनुसार विभिन्न शारीरिक तथा मानसिक समस्या भएका व्यक्तिहरूले यहाँ पूजा–आराधना गरेपछि लाभ प्राप्त गरेको अनुभव सुनाउने गरेका छन्।
मन्दिरमा विशेषगरी दुर्गा पूजा, दशैं तथा माघे सक्रान्ति जस्ता धार्मिक पर्वका अवसरमा ठूलो संख्यामा भक्तजनहरू आउने गर्दछन्। यस मन्दिरमा कास्की, लमजुङ,गोर्खा ,तनहुँ लगायत देशका विभिन्न स्थानबाट मात्रै होइन, विदेशबाट समेत भक्तजन आउने गरेको पुजारी सापोकोटाले बताउनुभयो।
धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको संगम बनेको भगवती मन्दिर स्थानीय समुदायको आस्थाको केन्द्रका रूपमा स्थापित छ। यो मन्दिर पोखरा बाट कालिका,ओख्ले, सौर्य बजार तथा काहुँखोलाको बाटो,सुनपंदेली, चितेपानी, भैंसेको बाटो हुँदै मादी नदीको किनारै किनार ५ किलोमिटरको यात्रामा पुग्न सकिन्छ।

0 Comments
Please do not enter any spam link in the comment box.