अर्गानिक खाना, गुरुङ संस्कृति र हिमाली दृश्यले आकर्षित गर्दै ह्याङ्ग्जाकोट होमस्टे

पोखरा नजिकैको ग्रामीण पर्यटन गन्तव्यका रूपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, धितालस्थित ह्याङ्ग्जाकोट गाउँ परिचित बन्दै गएको छ। प्राकृतिक सुन्दरता, गुरुङ समुदायको मौलिक संस्कृति, स्थानीय अर्गानिक परिकार र हिमाली दृश्य यहाँका प्रमुख आकर्षण हुन्।

पोखराको हेम्जास्थित मिलनचोकबाट अस्ताम हुँदै करिब १७ किलोमिटरको पक्की सडकमार्फत ह्याङ्ग्जाकोट पुग्न सकिन्छ। अस्तामबाट करिब १५ मिनेटको यात्रापछि पुगिने यस गाउँमा मौसम खुलेका बेला माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। गाउँमाथिको भ्यु पोइन्टबाट वरपरका डाँडाकाँडा, ग्रामीण बस्ती र हिमाली दृश्यको आनन्द लिन सकिन्छ।

ह्याङ्ग्जाकोटमा वि.सं. २०७३ सालदेखि सामुदायिक होमस्टे सञ्चालन हुँदै आएको छ। गाउँका करिब ७५ घरधुरीमध्ये हाल १४ घरमा होमस्टे सञ्चालन भइरहेको स्थानीयबाट प्राप्त जानकारीमा उल्लेख छ। होमस्टेमा आउने पाहुनाले स्थानीयस्तरमा उत्पादित कृषि उपजबाट तयार गरिएका परिकारको स्वाद लिनुका साथै गाउँको रहनसहन र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाउँछन्।

गाउँमा होमस्टे सञ्चालन भएपछि पर्यटकको चहलपहल बढेको होमस्टेका सचिव सुन्दर गुरुङको भनाई छ । विशेषगरी शुक्रबार र शनिबार पाहुनाको आगमन बढी हुने गरेको छ भने पछिल्लो समय विदेशी पर्यटकसमेत यहाँ आउन थालेका छन्।

ग्रामीण क्षेत्रमा रोजगारी तथा सुविधाको खोजीमा बसाइँसराइ बढिरहेको अवस्थामा गाउँका युवाहरू मिलेर होमस्टे सञ्चालन गर्नु स्थानीय पर्यटन प्रवर्द्धनको महत्वपूर्ण प्रयास बनेको छ। गुरुङका अनुसार, होमस्टेबाट गाउँका बासिन्दालाई आर्थिक तथा सामाजिक रूपमा सहयोग पुगेको छ। गाउँमै आम्दानीको अवसर सिर्जना भएपछि केही हदसम्म बसाइँसराइ रोक्नसमेत टेवा पुगेको उहाँको अनुभव छ।

यद्यपि, ह्याङ्ग्जाकोटको पर्यटनलाई थप व्यवस्थित र दिगो बनाउन पूर्वाधार विकास, प्रचारप्रसार र स्थानीय तहको सहयोग आवश्यक रहेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार, पर्यटन प्रवर्द्धनका लागि सरकारी सहयोग तथा योजनाको अभाव अझै महसुस भइरहेको छ।

ह्याङ्ग्जाकोट क्षेत्र धम्पुस हुँदै अन्नपूर्ण आधार शिविरतर्फ जाने पदयात्रा मार्गसँग पनि जोडिएको छ। यसले स्थानीय संस्कृति, कृषि उत्पादन र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोडेर गाउँको आर्थिक गतिविधि बढाउने सम्भावना देखाएको छ।

पोखराबाट छोटो दूरीमै ग्रामीण जीवन, स्थानीय अर्गानिक खाना, गुरुङ संस्कृति र हिमाली दृश्यको अनुभव लिन चाहने पर्यटकका लागि ह्याङ्ग्जाकोट होमस्टे आकर्षक गन्तव्य बन्न सक्छ। स्थानीय उत्पादन र संस्कृतिको संरक्षण गर्दै पर्यटनलाई दिगो रूपमा विकास गर्न सके यस गाउँले ग्रामीण पर्यटनको क्षेत्रमा थप पहिचान बनाउन सक्ने सम्भावना छ।

Post a Comment

0 Comments