लमजुङ जिल्ला बेसीसहर नगरपालिका वडा नं -४ मा अवस्थित पुरानकोट गाउँ (१,९५० मिटर) ऐतिहासिक थलो हो। चौबिसे राज्यअन्तर्गत लमजुङ पनि एक राज्य थियो। इतिहासअनुसार कालु शाह लमजुङका राजा थिए। लमजुङले कास्कीबाट राजा कुलमण्डनका माइला छोरा कालुलाई ल्याएर तुर्लुङकोटमा राजा बनाएको थियो । पछि तुर्लुङकोटबाट दरबार पुरानोकोट सारियो। पुरानोकोटमा हाल पनि दरबारका भग्नावशेष छन्।
कालु शाहको हत्या भएपछि उनका कान्छा भाइ यशोब्रह्मालाई कास्कीबाट ल्याएर पुरानोकोट गढीमा बसाइयो। उनले गाउँबेँसी र बेसीसहरमा दरबार बनाए। पुरानोकोट गढीमुनि पुरानोकोट गाउँ रहेको छ। बेसीसहर नगरपालिका–४ स्थित पुरानोकोटमा ११६ घरधुरी छन्। तीमध्ये ५ घर दलितका र बाँकी गुरुङ समुदायका छन्। चाइल्ड नेपालको सहयोगमा २०६८ सालदेखि गाउँमा होमस्टे सञ्चालन गर्न थालिएको हो। हाल गुरुङ समुदायका १२ घरमा होमस्टे सञ्चालन भइरहेको छ।
पुरानोकोटबाट एक घण्टामा गढी पुग्न सकिन्छ, जहाँ जलदेवी मन्दिर, राजा–रानीको दरबारका भग्नावशेष तथा सेना परेड खेल्ने मैदान रहेका छन्। गढी क्षेत्र र गाउँको छेउबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, पिक–२९, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्मका डेढ दर्जनभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। यहाँ आउने पाहुनालाई जन्तर लगाएर स्वागत गरिन्छ।
गाउँलेहरू निकै हार्दिक छन्। साँझ सांस्कृतिक कार्यक्रममा सोरठी नाच, झ्याउरे, टुक्का, घाँटु र भेडी गोठाला नाटक प्रस्तुत गरिन्छ।
कसरी पुग्ने ?
पुरानकोट गाउँ पुग्न बेसीसहर–काउलेपानी–पुरानोकोट १७ कि.मि. दूरीमा पर्दछ। मोटरसाइकल र जीप गाउँसम्म पुग्छन्। बेसीसहरबाट दिउँसो २ बजे पुरानोकोट जाने बस छुट्छ। बसबाट करिब २ घण्टा लाग्छ भने बेसीसहरबाट पैदल जाँदा करिब ४ घण्टा लाग्छ।
पुरानोकोट सामुदायिक होमस्टेका लागि सम्पर्क।
कन्याकाशी गुरुङ : ९८४६२४८३३८
खिन्दुरी गुरुङ : ९८६१७१३७६७

0 Comments
Please do not enter any spam link in the comment box.