स्याङ्जाको भीरकोट नगरपालिका–२, भाल्थुममा समुद्र सतहदेखि करिब १,६०० मिटर उचाइमा अवस्थित केघा सामुदायिक होमस्टे प्राकृतिक सौन्दर्य, गुरुङ समुदायको मौलिक संस्कृति र आत्मीय आतिथ्यको अद्वितीय संगम हो। शान्त वातावरण, हरियाली डाँडाकाँडा र हिमाली दृश्यले सजिएको यो होमस्टे आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
केघा पुग्ने पाहुनाहरूलाई गुरुङ समुदायको आत्मीय स्वागतसँगै यहाँको परम्परागत जीवनशैली, संस्कृति र गाउँले परिवेशलाई नजिकबाट अनुभव गर्ने अवसर मिल्छ। यहाँ बिताएको समयले प्रकृतिसँगै स्थानीय संस्कृतिसँग पनि गहिरो सम्बन्ध जोड्ने अनुभूति दिलाउँछ।
धार्मिक तथा पर्यटकीय आकर्षण
केघा सामुदायिक होमस्टे वरपर रहेका भीरकोट कालिका मन्दिर, भीरकोट दरबार तथा केघा देवी देउराली धार्मिक क्षेत्र यहाँका प्रमुख धार्मिक तथा ऐतिहासिक आकर्षण हुन्। साथै सुन्दरडाँडा र गुराँस डाँडा जस्ता रमणीय स्थलहरूबाट हिमाल, पहाड र हरियाली भू–दृश्यको मनमोहक अवलोकन गर्न सकिन्छ। यी क्षेत्र प्याराग्लाइडिङका लागि पनि उपयुक्त मानिन्छन्।
गुरुङ संस्कृतिको जीवन्त अनुभव
केघा होमस्टेको अर्को विशेषता यहाँको जीवित सांस्कृतिक सम्पदा हो। पाहुनाहरूले गुरुङ समुदायको प्रसिद्ध सोरठी र घाँटु नृत्य नजिकबाट अवलोकन गर्न सक्छन्। साथै कबड्डी, डोरी तान्ने, ठेलो फाल्ने तथा घैँटो फुटाउने जस्ता परम्परागत खेलहरूमा सहभागी हुने अवसर पनि प्राप्त हुन्छ। यी गतिविधिले गाउँको मौलिक संस्कृतिलाई थप नजिकबाट चिनाउने काम गर्छन्।
प्राकृतिक दृश्यावलोकन
केघा सामुदायिक होमस्टेबाट बयरघारी बजार, आँधीखोला, धानु बाँसे, ढुंगेधारा सामुदायिक वन, भीरकोट खिलुङ कालिका मन्दिर तथा पूर्वतर्फको बिरुवा बजार लगायतका रमणीय स्थलहरूको सहज अवलोकन गर्न सकिन्छ। वर्षभरि हरियालीले ढाकिएका डाँडाकाँडा र शान्त वातावरणले यहाँको बसाइलाई अझ स्मरणीय बनाउँछ।
अर्गानिक स्थानीय परिकारको स्वाद
केघा होमस्टेमा पाहुनाहरूलाई स्थानीय उत्पादनबाट तयार गरिएका अर्गानिक परिकारहरू स्वाद लिन पाइन्छ। यहाँ उत्पादन हुने धान, मकै, कोदो, गहुँ, फापर, आलु, प्याज, सागसब्जी, साथै लोकल कुखुराको मासु, सुकुटी, भटमास, दही, घ्यू, कोदोको रोटी, मकैको रोटी, सेलरोटी तथा परम्परागत कोदोको रक्सी यहाँका लोकप्रिय परिकार हुन्। स्थानीय स्वाद, स्वच्छता र आत्मीय सेवाले यहाँको बसाइलाई थप विशेष बनाउँछ।
सांस्कृतिक साँझको विशेष आकर्षण
साँझपख गुरुङ समुदायको परम्परागत भेषभूषामा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रमहरूले पाहुनाहरूलाई गाउँको मौलिक कला र संस्कृतिसँग परिचित गराउँछन्। लोकगीत, लोकनृत्य र सामूहिक सहभागिताले यहाँको सांस्कृतिक साँझलाई अविस्मरणीय अनुभव बनाउने गर्दछ।
कसरी पुग्ने ?
पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै करिब ५४ किलोमिटर यात्रा गरी बयरघारी पुग्न सकिन्छ। त्यसपछि करिब ६ किलोमिटर कच्ची सडक पार गरेपछि केघा सामुदायिक होमस्टे पुगिन्छ। ग्रामीण परिवेश, प्राकृतिक दृश्य र आत्मीय आतिथ्यको अनुभव गर्न चाहने जो–कोहीका लागि केघा सामुदायिक होमस्टे उत्कृष्ट रोजाइ बन्न सक्छ।

0 Comments
Please do not enter any spam link in the comment box.