धार्मिक महत्व र प्राकृतिक विशेषताले भरिएको 'सीता गुफा’ ओझेलमा

पोखरा महानगरपालिका–३०, खुदीमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको ‘सीता गुफा’ उचित प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पौराणिक महत्वसँगै प्राकृतिक विशेषताले समेत भरिपूर्ण रहेको यो गुफा पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण गन्तव्य हो।

स्थानीय बुढापाका तथा प्रचलित पौराणिक किम्बदन्तीअनुसार, त्रेतायुगमा भगवान रामचन्द्रसँग वनवासका क्रममा यात्रा गर्दै माता सीता यस क्षेत्रमा आइपुगेको र त्यस क्रममा उहाँले केही समय यसै गुफाभित्र गोप्यवासमा बिताएको विश्वास गरिन्छ। यही विश्वासका आधारमा यस स्थानको नाम ‘सीता गुफा’ रहन गएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार, प्राचीन समयमा सिद्ध धार्मिक गुरु ऋषि देवनाथ नागबाबाले समेत यसै गुफाभित्र बसेर कठोर तपस्या गरेका थिए। त्यसैले गुफा धार्मिक आस्था र स्थानीय इतिहाससँग समेत जोडिएको छ।

करिब ५० मिटर लामो र ७ मिटर चौडाइको क्षेत्रमा फैलिएको गुफाभित्र विभिन्न प्राकृतिक संरचना तथा विशेषताहरू देख्न सकिन्छ। गुफाभित्रका केही विशेष ढुङ्गामा हिर्काउँदा मादल बजेजस्तो सुरिलो आवाज आउने स्थानीय बताउँछन्।

गुफाका भित्ता तथा चट्टानमा गाईको थुन, खुरलगायत विभिन्न देवीदेवताका आकृति जस्ता प्राकृतिक संरचना देखिने भएकाले यहाँ पुग्नेहरूका लागि गुफा थप आकर्षणको केन्द्र बन्ने गरेको छ।

त्यस्तै, गुफाको भित्री भागबाट निस्किएको पानीको प्राकृतिक मुहान बाह्रै महिना नसुक्ने स्थानीयको भनाइ छ। धार्मिक विश्वास र प्राकृतिक संरचनाको संयोजनका कारण गुफाले थप पर्यटकीय महत्व बोकेको छ।

पोखरा विश्वविद्यालय तथा रुपा–बेग्नास ताल क्षेत्रको नजिकै रहेको यो गुफा पर्याप्त प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा अझै पनि धेरै पर्यटकको नजरमा पर्न सकेको छैन।

प्राकृतिक संरचनालाई असर नपर्ने गरी संरक्षणमुखी पूर्वाधार निर्माण र व्यवस्थित प्रचारप्रसार गर्न सके ‘सीता गुफा’ ले पोखराको पर्यटनमा नयाँ आकर्षण थप्न सक्ने सम्भावना देखिन्छ।

Post a Comment

0 Comments