चापाकोट सामुदायिक देउराली होमस्टे पोखरा –२३ मा अवस्थित एक शान्त, प्राकृतिक र ग्रामीण पर्यटन गन्तव्य हो । यो होमस्टे खासगरी आगनमै देखिने फेवातालको दृश्य अवलोकन गर्दै गाउँले जीवनशैली अनुभव गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त मानिन्छ ।
२०७३ सालमा गाउँका ३० घर मिलेर दर्ता गरेको यस चापाकोट देउराली सामुदायिक होमस्टेमा मिश्रित जातजातिको सहभागिता रहेको छ। यहाँ आउने पाहुनालाई मगर संस्कृतिको बाजागाजाले स्वागत गरिन्छ।
यस होमस्टेमा आउने पाहुनाले गाउँमै उत्पादित सिजन अनुसारका विभिन्न तरकारी, कोदोको रोटी, ढिँडो,दालभातका साथै दूध, मोही, गुन्द्रुकको अचार, लोकल कुखुराको मासुको स्वाद लिन पाउंछन् ।
यो होमस्टे दुई वटा टोलमा विभाजित छ। तल्लो टोलमा अन्दाजी ४० जना सम्मको समुहलाई एकैपटक सेवा दिन सक्छ भने माथिको घरेडी टोलमा २०–२५ जना सम्मको समुहलाई एकैपटकमा सेवा दिन सकिन्छ ।
अग्र्यानिक खानासँगै यस होमस्टेमा स्थानीय मगर- ब्राह्मण-दलित समुदायको जीवनशैली अनुभव गर्न सकिन्छ। यहाँबाट फेवाताल, पोखरा उपत्यकाको रमणीय दृश्य, पुम्दिकोट महादेवको मन्दिर, माछापुछ्रे र अन्नपूर्ण हिम शृंखला, हरियाली डाँडा, खारिखोला झरनाका साथै सूर्योदय र सूर्यास्तको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ ।
लेकसाइडबाट पक्की सडक १३ किलोमिटरको दूरीमा अवस्थित यो गाउँ छोटो हाइकिङ मार्फत पनि २ ढाई घण्टामै सजिलै पुग्न सकिन्छ ।


0 Comments
Please do not enter any spam link in the comment box.