कास्की जिल्लाको मादी गाउँपालिका–७ मा अवस्थित छ, नौलेडाँडा गाउँ। कुनै समय करिब १६–१७ घरधुरी रहेको यो गाउँमा अहिले भने ९–१० घरमा मात्र नियमित बसोबास छ।
गुरुङ समुदायको बाहुल्य रहेको नौलेडाँडा पनि पछिल्लो समय वैदेशिक रोजगारी र बसाइँसराइको प्रभावबाट अछुतो रहन सकेन। रोजगारी र राम्रो अवसरको खोजीमा गाउँ छाड्ने क्रम बढ्दै गएपछि, गाउँका धेरै घरहरू अहिले सुनसान बनेका छन्। तर, पछिल्लो समय भने केही परिवारले आफ्ना पुराना घरहरूको स्याहार–सम्भार गर्न थालेका छन्। गाउँ छाडेर अन्यत्र बसे पनि, बेला–बेला आफ्नै गाउँ फर्किने र पुरानो घरमा केही समय बिताउने क्रम पनि देखिन थालेको छ।
गाउँमा रहेका स्थानीयको मुख्य पेशा कृषि हो। तर यहाँको कृषि व्यवसायिकभन्दा पनि निर्वाहमुखी छ। आफ्नै परिवारको आवश्यकता पूरा गर्नका लागि खेतीपाती गर्ने परम्परा अझै कायम छ।
नौलेडाँडाको अर्को विशेषता भनेको यसको सहज पहुँच पनि हो। पोखराबाट पक्की सडक हुँदै करिब ३० मिनेटमै पुग्न सकिने यो गाउँ, पर्यटकीय गन्तव्य सिक्लेस जाने बाटोमै पर्छ।
शान्त वातावरण, गाउँले जीवनशैली र वरिपरिको प्राकृतिक सौन्दर्यले नौलेडाँडालाई सम्भावनायुक्त गाउँका रूपमा चिनाउँछ।
बसाइँसराइले गाउँका धेरै घरहरू खाली भए पनि, आफ्नै माटो र पुरानो घरसँगको सम्बन्ध भने अझै टुटेको छैन।
सायद यही सम्बन्धले कुनै दिन नौलेडाँडाका सुनसान घरहरूमा कुनै दिन अवश्य चहलपहल फर्काउनेछ।

0 Comments
Please do not enter any spam link in the comment box.